जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १६:१०

नुवाकोटमै आएका सभापति देउवा सहभागी कार्यक्रम कांग्रेस नेता महत र केसीद्धारा बहिष्कार


नुवाकोट ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएको नुवाकोटको एक कार्यक्रममा सोही जिल्लाका नेताहरुले बहिस्कार गरेका छन् । नुवाकोटमा आज आयोजना भएको क्षेत्रीय सम्मेलनलाई पूर्व अर्थमन्त्री डा. रामशरण महत र अर्का नेता अर्जुननरसिंह केसीले बहिस्कार गरेका हुन् ।

संस्थापन पक्षका नेताहरुको इच्छा अनुरुप आयोजना गरिएको कार्यक्रममा शीर्ष नेताहरुलाई अवमूल्यन गरिएकाले डा महत र केसी सहभागी नभएको बताइएको छ। लिखु गाउँपालिकाको चौघडामा सुरु सम्मेलन नुवाकोट काङ्ग्रेस क्षेत्र नंवर १ र २ को संयुक्त आयोजनामा भएको हो । काठमाडौं क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभा निर्वाचन हारेका सहमहामन्त्री डा. प्रकाशशरण महतको आयोजनामा भएको कार्यक्रमलाई लिएर दुवै नेता असन्तुष्ट भएका थिए ।

कार्यक्रममा सभापति देउवासहित उपसभापति विजय गच्छदार र डा. प्रकाशशरण महतले सम्बोधन गर्नुभएको छ । क्षेत्रीय सभापति अर्जुनप्रसाद न्यौपानेले कार्यकर्ता भेला र आमसभा आयोजना गरिएको बताउनु भयो । तर, निमन्त्रणापत्रमा क्षेत्रीय सम्मेलन उल्लेख गरिएको छ। साथै, दुवै क्षेत्रको संयुक्त सम्मेलन एकै स्थानमा हुन सक्ने\नसक्ने अवस्थालाई पार्टीका धारले फरकफरक व्याख्या गरेका छन्। निमन्त्रणापत्रमा पार्टीको विधान अनुसार क्षेत्रीय सम्मेलन गर्न लागिएको उल्लेख गरिएको छ। तर, संस्थापन इतरका एक नेताले दुई क्षेत्रको संयुक्त रुपमा सम्मेलन हुनै नसक्ने दाबी गरेका छन् ।