जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १६:२७

विश्वास नेपालद्धारा मनोरञ्जन क्षेत्रका व्यवसायी र श्रमिकको हितमा ३७ कार्यक्रम, सबैखाले कामको सम्मान गर्न आग्रह


काठमाडौं, साउन ५

विश्वास नेपालले मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकको सशक्तिकरणका लागि श्रमिकको राष्ट्रिय भेला र ३७ वटा जागरणमुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सम्मान परियोजना अन्तर्गत भएका कामको सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रगति विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो ।

‘हाम्रो सम्मान’ परियोजनामार्फत विश्वास नेपालले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको राष्ट्रिय भेलाको आयोजना गरी ‘मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकहरूको सञ्जालको गठन गरेको हो । परियोजना संयोजक विवेक शर्माले संस्थाले तालिम दिएर पठाएका यस क्षेत्रका श्रमिकले मनोरञ्जन क्षेत्रका व्यवसायी र श्रमिकको हित, काम र कर्तव्यका बारेमा देशभर ३७ वटा कार्यक्रम सम्पन्न गरेको, श्रमिकको देशव्यापी भेलाको आयोजना गरेर श्रमिकको राष्ट्रिय सञ्जालको गठन गरिएको बताउनुभयो ।

उहाँले संस्थाको मुख्य उद्देश्य भनेको यस क्षेत्रको रोजगारीलाई मर्यादित बनाउँदै श्रमिकको जीवन जोखिममुक्त बनाउन सशक्तिकरण गर्दै लैजाने लक्ष्यसहित विविध कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । विश्वव्यापी कोरोना महामारीका कारण ठप्प भएको यस व्यवसायबाट प्रभावित चार सय बढी श्रमिक परिवारलाई राहत प्रदान गरेको छ ।

दोहोरी साँझ, रेष्टुरेन्ट बार, पव, मसाज पार्लरलगायतका व्यवसायमा उपलब्ध रोजगारीलाई सम्मानित, मर्यादित बनाउन विश्वास नेपालले वि.सं. २०६५ देखि श्रमिकलाई निरन्तर पैरवी, मनोपरामर्श, रचनात्मक क्रियाकलाप र अनुगमनसहित मिलन केन्द्रको अवधारणा पनि ल्याएको छ । संस्थाका कार्यकारी निर्देशक बालकुमारी आलेले विशेष गरी साँझदेखि रातको समयमा मात्र सञ्चालन हुने यस व्यवसायमा काम गर्ने श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउन संस्थाले काम गरिरहेको बताउनुभयो ।

उहाँले रातको समयमा काम गर्नेलाई समाज, घरवेटी र आफ्नै घरपरिवारले पनि नस्वीकार्ने कारणले पहिचान लुकाएर पेट पाल्न वाध्य हुने, लुकेर काम गर्नुपर्दा कार्यस्थल र घरपरिवारमै श्रमिक हिंसामा धेरै परेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सबैखाले कामको सम्मान हुनुपर्यो, चाहे दिउँसो गर्ने होस् वा राती । रातको समयमा काम गर्दैमा श्रमिकलाई हेलाको दृष्टिकोणले नहेरौं भन्ने मान्यतालाई समाजमा स्थापित गर्ने हाम्रो संस्थाको लक्ष्य हो ।’

त्यसैगरी संस्थाका अध्यक्ष तारा भण्डारीले देशभर आठ लाख जना श्रमिकले रोजगारी पाएको यस क्षेत्रलाई मर्यादित बनाउन सके वैदेशिक रोजगारीको नाममा नेपाली मानव बेचविखनमा पर्ने सम्भावनालाई घटाउन सकिने बताउनुभयो ।

देशभित्रको रोजगारीलाई सम्मान नबनाउने, त्यहाँ काम गर्नेले सधैंको हेला–होचो खेप्नुपर्ने र राज्यले पनि करोडौंको राजस्व उठ्ने क्षेत्रलाई वेवास्ता गर्नु दुःख लाग्दो पक्ष हो– अध्यक्ष भण्डारी भन्नुहुन्छ ।

हाल दुई वर्षदेखि कोरोना महामारीका कारण यस क्षेत्र ठप्प हुँदा श्रमिक र व्यवसायी दुई पक्ष धेरै मारमा परेको र उनीहरूसँग आश्रित परिवारले खान नपाउने अवस्थामा पुगेको पनि संस्थाले जनाएको छ । यस क्षेत्र सञ्चालनको लागि छुट्टै कार्यविधि आवश्यक छ भन्दै विश्वास नेपालले वकालत गर्दै गृहमन्त्रालयमा कार्यविधिको नमुना समेत पेश गरेको छ ।