जनता टाइम्स

१ असार २०७६, आईतवार १२:१०

गुठी विधेयकमा नेकपाका सचेतक चौधरीको आन्दोलनकारीलाई मार्मिक प्रश्न – मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ?


काठमाडौं ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले किसानको पक्षमा ल्याएको गुठी विधेयकलाई अपव्याख्या गरिएको बताउनु भएको छ । उहाले धार्मिक आस्थामाथि हस्तक्षेप हुनेगरी विधेयकले कुनै कुरा नगरेको उल्लेख समेत गर्नुभयो ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले काठमाडौं उपत्यकाभित्र र बाहिरका गुठीको समस्या छुट्टाछुट्टै भएको बताउदै गरीब किसानको पक्षमा बोल्न प्रतिपक्षी नेपाली कांग्रेसलाई सुझाव समेत दिनुभयो । ‘म दाङको सांसद हुँ, दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय घरधुरीले प्रयोग गरिरहेका छन् । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने मोही किसानको समस्या यति नाजुक छ, उनीहरूको बारेमा कोही किन बौल्दैन ?,’ उहाले प्रश्न गर्नुभयो ।

संसदमा निक्कै भावुक हुदै बोल्नु भएकी सांसद चौधरीले प्रतिपक्षी दल कांग्रेसलाई प्रश्न गर्दै भन्नुभयो, ‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र कसको लागि हो ?’ उहाले अगाडी भन्नुभयो, ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ? गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन ?’