जनता टाइम्स

११ श्रावण २०७८, सोमबार ०८:५४

खोपमा पनि राजनीति गर्न थाल्यो सरकार : अनलाइन प्रणाली रोकेर आसोपासेलाई मात्र खोप दिने प्रयास


काठमाडौं, साउन ११ । सरकारले कोरोना खोपमा पनि राजनीति सुरु गरेको छ । आम नागरिकलाई प्राथमिकताका आधारमा दिनुपर्ने कोरोना खोपमा राजनीति गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले आसेपासेलाई प्राथमिकता दिन थालेको हो । देउवा सरकार गठनसँगै अनलाइन फारम भरेकालाई प्राथमिकता नदिई आसेपासेलाई मात्रै खोप दिने योजना बनाएपछि चर्काे आक्रोश पैदा भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार कोभिड १९ विरुद्धको खोप अभियानलाई कांग्रेस र माओवादीका कार्यकर्ताको हातमा सुम्पने प्रयासमा सरकार लागेको छ । विद्युतीय माध्यमबाट फाराम भरेकाहरुलाई खोप नदिने प्रयासमा कांग्रेस र माओवादीका नेताहरु लागेका हुन् । सरकारले केही महिना पहिले नै खोप लिन चाहनेहरुबाट विद्युतीय आवेदन मागेको थियो । त्यसरी आवेदन दिएका लाखौं मानिस खोप लगाउन पाइने आशमा बसेका छन् । तर, त्यसरी आवेदन दिएकाहरुलाई खोप नदिने, विद्युतीय आवेदनलाई मान्यता नै नदिने दवाब स्वास्थ्य मन्त्रालयलाई कांग्रेस एमालेले दिइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले जनताटाइम्सलाई दिएको जानकारीअनुसार ‘अनलाइनबाट फाराम भरेकाहरुलाई खोप नदिने निर्णय गराउन खोजिँदैछ । राजनीतिक नेतृत्वबाट आएको दवाबलाई कर्मचारीहरुले आपत्तिजनक भनेका छन् । खोपजस्तो मानवीय चिजमा पनि कार्यकर्ता पोस्ने, आफ्ना मानिसलाई पहिले खोप लगाउने सत्तारुढहरुको रवैया विरुद्ध जनआक्रोश तिब्र बन्दै गएको छ । कोभिड १९ विरुद्धको खोप लगाउन पनि कांग्रेस र माओवादीको कार्यकर्ता हुनुपर्छ ? सत्तारुढ दलका नेताका आसेपासेले मात्र खोप लगाउन पाउने हो ? अहिले जताततै यस्तो प्रश्न उठिरहेको छ ।

अहिले विभिन्न ठाउँमा लगाइएको खोपमा सत्तारुढ कांग्रेस र माओवादीका कार्यकर्ताले धाँधली गरिरहेका छन् । कांग्रेस र माओवादीका कार्यकर्ताबाहेक अरुले खोप लगाउन नपाउने अवस्था सिर्जना गरिँदैछ । यस्तो बेला अनलाइनबाट फाराम भरेकाहरुलाई पनि खोप नदिने षडयन्त्र सुरु भएको हो । अनलाइनबाट फाराम भरेकाहरुलाई निष्पक्ष रुपमा खोप दिँदा सत्तारुढ कार्यकर्ताको हालिमुहाली हुन पाउँदैन । खोप अभियान सरकारी स्तरबाटै धाँधली गरेर पार्टी कार्यकर्तालाई पोस्न अनलाइन फारामलाई मान्यता नदिने प्रयास सुरु भएको हो । केही दिनअघि कांग्रेस कार्यकर्ताले चिया पसलमै लगेर खोप लगाएको घटना बाहिर आइसकेको छ ।

देउवा सरकारले अहिलेसम्म विदेशबाट एकडोज खोपको पनि व्यवस्था गरेको छैन । अहिले दिइँदै गरेको खोप अघिल्लो केपी ओली सरकारकै पालामा बन्दोवस्त भइसकेको थियो । अघिल्ला सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ करोड डोज खोपको बन्दोवस्त गरेर सरकार छाड्नुभएको थियो । ओली सरकारले व्यवस्था गरेको खोपमा राजनीति गर्न देउवा सरकार उद्यत देखिएको हो ।