काठमाडौं, साउन १२ । सरकारले आगामी चैतसम्म तीन करोड मात्रा भन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने गृहकार्य अघि बढाएको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप प्रदान गर्ने गरी सरकारले यस्तो तयारी अघि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको छ। लोहनीले बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार १२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा डा. लोहनीले खोपबारे सम्बन्धित देशबाट सकारात्मक सन्देश आएको जानकारी दिनुभएको हो । “असोजदेखि चैतसम्म तीन करोड खोप आउने गरी काम अगाडि बढाइएको छ । जुन देशमा नेपालले खोप ल्याउनका लागि पहल अगाडि बढाएको छ, ती देशबाट सकारात्मक सन्देश आएकाले खोप आउनेछ,” लोहनीले भन्नुभयो । अघिल्लो सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत जनसङ्ख्यालाई खोपको प्राथमिकतामा पारेको थियो । त्यस्मा थप गर्दै सरकारले अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिकासमेत गरी दुई करोड ६४ लाख जनालाई खोप दिने लक्ष्यले अब खोपको दायरामा बालबालिकासमेत पारेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज मसान्तभित्रै एक करोड पाँच लाख ४८ हजार मात्रा खोप आइसक्नेछ र त्यसले देशको एक तिहाइ जनसङ्ख्यालाई समेट्छ । डा. लोहनीले जापानबाट १६ लाख मात्रा एक्स्ट्राजेनिका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने बताउनुभयो । यस्तै कोभ्याक्सबाटै तीन लाख ४८ हजार डोज खोप भदौको चौथो साता नेपाल आइपुग्नेछ । डा। लोहनीले कोभ्याक्स र विश्व बैङ्कले खोप दिने सुनिश्चित गरेको बताउनुभयो । चीनबाट भदौ मसान्तसम्म ६० लाख मात्रा खोप नेपाल भित्रिनेछ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीमा भारतबाट प्राप्त गर्न बाँकी १० लाख मात्रा कोभिसिल्ड खोपसमेत चाँडै आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार बालबालिकाका लागि चैत मसान्तसम्म फाइजरको ६० लाख मात्रा खोप आउनेछ । हालसम्म ३४ लाख पाँच हजार १५४ अर्थात १५.८ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन । यस्तै १४ लाख ३० हजार ४१५ अर्थात् ६.६ प्रतिशतले दुवै डोज खोप लगाएका छन ।













प्रतिक्रिया दिनुहोस्