जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १५:५५

घरमै भेटिए मृत्युको हल्ला फिँजाइएका ‘मेमेरी किङ’विजय शाही


काठमाडौं, साउन १३ । विलक्षण स्मरण शक्तिको दावी गरेर मेमोरी किङको नाममा निकै चर्चामा आएका विजय शाहीको मृत्यु भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला झुटो प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उहाँकै घरमा फेला पारेको हो ।

सामाजिक सञ्जालमा शाहीको मृत्यू भन्दै फोटोसहित इडिट गरेर राखेपछि प्रहरीले शाहीको खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले विजय शाहीको मृत्युको हल्ला झुटो भएको जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार सामान्य विरामी भएर अस्पताल जानुभएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसक्नु भएको ।

मेमोरि किङका नामले परिचित हुनुभएका विजय शाहीको मृत्यूको सूचना सुरुमा उहाँकै शिक्षक दिपकबहादुर शाहीले दिनुभएको थियो । शिक्षक दिपकले नै सुरुमा फोटोसहितको खबर फेसबुकमा हाल्नुभएको थियो ।

बिजयलाई अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको दिपकले उल्लेख गर्नुभएको छ । त्यही पोष्टका आधारमा धेरैले विजयलाई श्रद्धाञ्जली दिएका थिए । झुटो सूचना दिने दिपकले भने सो पोष्ट फेसबुकबाट हटाइसक्नु भएको छ । झुटो सूचनालाई आधार मान्दै फेसबुकमा श्रद्धाञ्जली दिनेमा सामाजिक अभियन्ताको नाममा अराजकता मच्चाउने ज्वाला संग्रौलासमेत रहनुभएको छ । प्रहरीले झुटो सूचना दिएर जिउँदै मान्छे मार्नेको खोजी अघि बढाएको जनाएको छ ।