जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १५:५५

एनआरएनए युकेमा खस्यो एक हजार फर्जी मत, मान्यता दिए कानूनी उपचार खोज्ने अध्यक्षका प्रत्यासी रोजिनाको चेतावनी


लण्डन, साउन २१ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेमा पहिलोपल्ट शुरु गरिएको अनलाइन भोटिङमा झण्डै एक हजार फर्जी मत खसेको छ । निर्वाचन सम्बन्धि जिम्मा लिएको कम्पनी ‘च्वाइस भोटिङ’ ले झण्डै एक हजार मत अस्वभाविक रुपमा खसेको जानकारी निर्वाचन समितिलाई दिएपछि यो तथ्य बाहिर आएको हो । एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले पत्रकार सम्मेलन गरेरै त्यस्ता भोटलाई मान्यता नदिन आव्हान गर्नुभएको छ ।

राईले चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको प्रष्ट पार्नुभएको हो । प्राप्त जानकारी अनुसार सैयौंको संख्यामा एउटै इमेल ठेगानाबाट भोट खसालिएको छ, जुन कम्पनीसँगको सम्झौता अनुसार पनि मान्य हुनेछैन । च्वाइस भोटिङले ती मतदाताहरूको फोटो परिचयपत्र समेत प्रमाणीकरणका लागि माग गरेको कुरा जानकारीमा आएको बताउँदै फर्जी मतकै आधारमा निर्वाचन परिणाम घोषणा गरिए कानूनी उपचार खोज्ने चेतावनी राईले दिनुभएको छ ।

‘म चुनाव जितिनेमा विश्वस्त छु । तर गैर कानूनी मत बदर हुनुपर्छ भन्ने मेरो अडान हो,’ राईले भन्नुभयो, ‘यसअघि निर्वाचन समितिले दिएको जानकारी र च्वाइस भोटिङको भनाई अनुसार निर्वाचन परिणामको पहिलो ड्राफ्ट (बुधवार) साँझसम्म निर्वाचन समितिमा आइपुग्नु पर्ने थियो । तर, निर्वाचनको परिणामलाई उल्टाउने, प्रकृयालाई समेत बिथोल्ने र निर्वाचन समितिलाई विभिन्न प्रभावमा पार्ने उद्देश्यले गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकारहरु लगायतको टोली हिजैदेखि निर्वाचन कार्यालयमा धर्ना बसेर निर्वाचन समितिलाई समेत घेराबन्दी गर्ने प्रयास गरेको सुन्दा दुःख लागेको छ ।

बेलायतस्थित करिब १ लाख ५० हजार भन्दा बढी नेपालीको प्रत्यक्ष भावनासँग जोडिएको यती संवेदनशील विषयमा भएको ढिला सुस्तीले संघको छविमा समेत प्रत्यक्ष असर पार्ने उहाँको भनाई छ । राईले संघको छवि कुनै पनि हालतमा धमिल्याउन दिन नहुनेमा पनि जोड दिनुभएको छ ।पत्रकार सम्मेलनमा रोजिनाको तर्फबाट आइटी विज्ञ इन्जिनियर संयुक्त श्रेष्ठले अनलाइन चुनाव गराएको भेन्डर च्वाइस भोटिङले समेत फर्जी भएको भनेर निर्वाचन समितिसँग सुझाव मागेको अवस्थामा बेलायतका समस्त नेपालीको भावनामा चोट पुग्ने खालको कदम नचाल्न निर्वाचन समितिलाई चेतावनी दिनुभयो ।

सोमबार मध्यान्ह शुरु भएर मंगलबार मध्यान्ह १२ बजे २४ घण्टाको अवधिमा समापन भएको एनआरएन यूके निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिने यसअघि नै घोषणा गरिएको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कँडेलले निर्वाचन समितिद्वारा ‘च्वाइस भोटिङ’ कम्पनीसँग गरिएको करार सम्झौता अनुरुप नै प्रक्रिया अघि बढिरहेको र निर्धारित समयमा नै नतिजा प्रकाशित गरिने बताउनु भएको थियो ।