जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार १८:४५

कस्तो रह्यो सेलिब्रेटीको साउन अन्तिम सोमबार ?


काठमाडौं, साउन ३२ । आज साउन महिनाको अन्तिम सोमबार भनौं या ५ औं सोमबार । साउनको प्रत्येक सोमबार हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजाआराधना गरेर मनाउने गर्दछन् । साउनको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक पूजा गरेर व्रत समाप्त गर्ने चलन रहिआएको छ । पहिलेको तुलनामा गत वर्षझैँ यो पनि कोरोनाको कहरले गर्दा शिवालयमा भिडभाड भने कम देखियो ।

साउन महिनालाई वर्षकै पवित्र महिनाका रूपमा लिइन्छ । साउन महिनाभर महिलाहरू हरियो, पहेँलो कपडा, चुरापोते र मेहन्दीमा आफूलाई सिँगार्ने गर्छन् । सर्वसाधारण मात्र नभएर हाम्रा सेलिब्रेटीले पनि साउनको सोमबार विशेष रूपमा मनाएका छन् ।

नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रिटीहरुले साउनको सोमबार व्रत बस्ने, मन्दिर जाने र शिवको महिमा गाउनेलगायतका क्रियाकलापका साथ मनाएका छन् । केही सेलिब्रेटीले भने व्रत नराखे पनि चोखो खाने, हरियो, पहेँलो पहिरन लगाउने र श्रृंगार गरेर साउन मनाउनुभएको छ । साउनको सोमबार व्रत बसेर शिवको पूजा गर्दा दीर्घायु, अटल सौभाग्य तथा अविवाहित नारीले सुयोग्य वर पाउने मान्यतासमेत छ ।

रेखा थापाले हरेक वर्ष साउनको सोमबार व्रत बसेको सुनाउनुभयो । उहाँले शिवको महिना विशेष लाग्ने भन्दै हरियो, पहेँलो पहिरन, चुरा र मेहन्दीलगायतका शृङ्गार गरेर चाखोनितो भइ मन्दिर गएको बताउनुभयो ।

कलाकार करिष्मा मानन्धरले यो वर्ष मैले साउनको सोमबार व्रत नराखेको बताउनुभयो । उहाँले आफूल मन्दिरमा गई पूजाआजा गरेको र चोखो आएको भएपनि ब्रत भने नबसेको सुनाउनुभयो । उहाँले साउनमालगाउने चलन चलेको हरियो, पहेँलो पहिरन, चुरा, मेहन्दीलगायत सबै शृङ्गार भने गरेको पनि बताउनुभयो ।

ऋचा शर्माले आफू हालसम्म सोमबार व्रत नबसेको बताउनुभयो । उहाँले आफू अहिले गर्भवती रहेको भन्दै झन् यस समयमा पटक–पटक बच्चाको स्वास्थ्यका लागि खानुपर्ने बताउनुभयो । उहाँले आफूले हरियो, पहेँलो पहिरन, चुरा, मेहन्दी सबै श्रृंगार लगाएको बताउनुभयो ।

दीपाश्री निरौलाले आफूलाई साउन भन्नेबित्तिकै देवादिदेव महादेवको व्रत, पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लाग्ने भन्दै यस महिना एकदमै रमाइलो लाग्ने बताउनुभयो । उहाँले कोरोनाका कारण यस वर्ष पनि रमाइलो गर्न नपाइएको बताउनुभयो । आफूले हरेक वर्षको साउन विशेष रूपमा सेलिब्रेसन गर्ने भन्दै हरियो, पहेँलो र रातो मिसिएको लुगा, चुरा, मेहन्दी लगाएको सुनाउनुभयो ।

अनु शाहले साउनको व्रत गर्न अनिवार्य नभएको भन्दै आफ्नो इच्छा भएको बताउनुभयो । उहाँले आफू दुई वर्षदेखि साउनको सोमबार नियमित व्रत राख्दै आएको सुनाउनुभयो ।