जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार २१:२६

एनआरएनले आफ्नै खर्चमा जहाज पठाएर काबुलबाट नेपालीको उद्दार गर्ने : आजमात्रै ३ सय नेपालीको उद्दार



काठमाडौं, साउन ३२ । गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने भएको छ । सोमबार बसेको एनआरएन सचिवालय बैठकले उक्त निर्णय गरेको हो । अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे आफू गम्भीर रहेको र आफ्नै तरिकाले प्लेन पठाएर जतिसक्क्दो चाँडो उद्दार गर्ने तयारीमा आफूहरु जुटेको एनआरएनका बरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो । उद्दारका लागि परराष्ट्र मन्त्रालयसँग समेत समन्वय गरिने भएको छ । ‘सीधै नेपालमा उद्दार गरेर ल्याउन कठिन भएपनि नजिकैको कुनै शान्तिपूर्ण मुलुकमा लगेर राख्ने हाम्रो योजना छ’ केसीले भन्नुभयो , ‘अफगानिस्तानमा एनआरएन नभएपनि हामी नेपालीहरुको अवस्थाबारे निकै गम्भीर छौं ।’ मंगलबार पुनः बस्ने सचिवालय बैठकले कहिले जहाज पठाउने भन्ने बारे निर्णय गर्ने भएको छ । एनआरएनका अनुसार अहिले अफगानिस्तानमा १४ हजार नेपाली कार्यरत छन् । यसैबीच, काबुलको अमेरिकी दूतावासमा कार्यरत ३ सय जना नेपालीलाई अमेरिकाले उद्दार गरेर दुबईमा राखेको एनआरएनले जनाएको छ ।