जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार २२:३१

म्यानचेस्टर युनाइटेडसँग क्रिस्टियानो रोनाल्डोको पुनर्मिलन


काठमाडौं, भदौ ११ । म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने सहमति गरेको पुष्टि गरेको छ । रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले पोर्चुगिज फरवार्डलाई पहिले ह्यारी केनलाई अनुबन्ध गर्नबाट चुकेको म्यानचेस्टर सिटीलाई अफर गरेका थिए । तर, सिटी यो दौडबाट शुक्रबार बाहिरिएको थियो । योसँगै युनाइटेडले ३६ वर्षीय खेलाडीलाई पुनः ओल्ड ट्राफोडमा भित्र्याउन ३.३ करोड डलरको अफर प्रस्तुत गर्ने ढोका खोलेको थियो । रोनाल्डो यसअघि सन् २००३ देखि २००९ सम्म युनाइटेडसँग आबद्ध थिए ।

‘क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन् ।’ युनाईटेडले आधिकारिक रुपमा लेखेको छ । क्लबले एक विज्ञप्ति जारी गर्दै ५ पटकका बालोन डिओर विजेता रोनाल्डोलाई पुनः भित्र्याउन पाउँदा खुसी व्यक्त गरेको छ । युनाइटेडमा रहँदा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्ने बताईएको छ । बिहिबार मात्रै मेडिकल गरेपछि युभेन्ट्स छाड्ने पक्का भएको थियो ।

युनाईटेडको शहरी प्रतिद्धन्दी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न चाहेको थियो । तर युनाईटेडलेनै इच्छा देखाएपछि सिटी पछि हटेको हो । युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नान्डेजले रोनाल्डोको भविष्यको विषयमा कुराकानी गरिरहेको बताएका थिए । युनाईटेडलेनै रोनाल्डोलाई पोर्चुगलको स्पोर्टिङ लिस्वोनबाट ईङ्ल्याण्ड ल्याएको थियो ।

रोनाल्डोले युनाईटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए । युनाईटेडलाई फिफा क्लब विश्वकपदेखि कम्युनिटी सिल्ड समेत जिताए । सर एलेक्स फर्गुसनको नेतृत्वमा रोनाल्डोले युनाईटेडमा अद्भुत प्रर्दशन गरेका थिए । रोनाल्डोले पूर्व क्लब फर्कने कुनै सम्भावना नरहेको बताएका थिए । तर युनाईटेडले अन्तिममा रोनाल्डोलाई क्लब फर्काउन सफल भएको छ ।

पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् । उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र ईटालीबाट जितेका छन् । उनले देशका लागि युरो कप समेत उचालेका छन् । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी तत्कालिन समयमा कीर्तिमानी मुल्यमा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।एजेन्सी