जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार २२:०६

एनआरएनए निर्वाचन : नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा


काठमाडौं, भदौ १३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचार–प्रसार थालेका हुन् । आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो । उहाँ नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनुभएको थियो । उहाँले संस्थाका समयसान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने सुनाउनुभयो । धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भइ हाल बेलायतमा बस्दै आउनुभएको छ ।

सन् २००७ देखि एनआरएनएमा आवद्ध उहाँले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवद्र्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार (सन् २०१७) रहिसक्नुभएको उहाँ त्यसअघि गैरआवासीय नेपाली संघ यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा हुनुहुन्थ्यो ।

त्यस्तै उहाँ सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत हुनुहुन्थ्यो । एनआरएनए वर्तमान अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेको उहाँको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ । चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरूपमा प्रतिबद्धना सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।

यता एनआरएनएको युरोप क्षेत्रीय उप–संयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि आयरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ । सन् २००३ देखि संस्थामा आवद्ध उहाँको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक भइसक्नुभएको उहाँ हाल हस्तकला व्यवसायमा आवद्ध हुनुहुन्छ ।