जनता टाइम्स

४ असार २०७६, बुधबार ०९:२६

गाउँपालिका उपाध्यक्ष समेत हराईरहेको जिप खोज्न गोताखोरको टोली परिचालन


काठमाडौं ।

मंगलबार कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गोताखोरको टोली परिचालन भएको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौंबाट सो टोली पुगेको हो ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर हुम्ला आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । आवश्यक सामाग्री र उपकरणको अभावमा स्थानीय स्तरमा उद्धार गर्न नसकिए पछि थप उद्धारका लागि गोताखोरको टोली आउन लागेको उहाँले बताउनुभयो । सोमबार दिउसो साढे १२ बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुतर्फ जाने क्रममा बालु बिसौनी कैल्याभावालु क्षेत्रमा जीप कर्णाली नदीमा खसेको थियो ।

जीप कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता हुनु भएको छ । त्यसै गरी बेपत्ता हुने अन्यमा गाडी चालक सिमकोट आठ निवासी मणी शाही, खार्पुनाथ ४ निवासी चन्द्र हमाल, नैन सिंह भण्डारी पाँचकी वसन्ती शाही, १३ वर्षका गोकुल सुनार, नन्ददेवी सिंह खार्पुनाथ एक पिउसकी कौर दमाई र उनको नाम नखुलेको दुई वर्षको छोरा र काठमाडौ थानकोट निवासी वेल्डिङ मास्टर राजु श्रेष्ठ रहनुभएको थियो । घटनास्थलमा रहनु भएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । जीप खसेको स्थान सडकभन्दा २५ देखि ३० मिटर तल रहेको छ । बुधबार बिहानसम्म केही पनि पत्ता लागेको छैन । जीपमा अरु पनि यात्रु हुन सक्ने तर उनीहरुको बारेमा कुनै जानकारी भएको छैन ।