जनता टाइम्स

४ असार २०७६, बुधबार १२:१७

७० हजार घुससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा


भोजपुर ।

बाटो मर्मतको बिल भुक्तानीका लागि सेवाग्राहीबाटै घुस रकम लिने क्रममा अख्तियारले दुई कर्मचारीलाई पक्राउ गरेको छ। हतुवागढी गाउँपालिकाका इन्जिनियर मिसुहाङ किराँत र गाउँपालिकाकै असिस्टेन्ट सब–इन्जिनियर नईन्द्र राईलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङ घर भएका ठेकेदार दिनेश कार्कीले आफ्नो स्क्राइभेटरले काम गरेको विषयमा घुष मागेपछि विशेष सूचनाका आधारमा अख्तियारले ईन्जिनियर मिसुहाङ्ग किरातलाई ५० हजार र असिस्टेन्ट सब–इन्जिनियर नईन्द्र राईलाई २० हजार रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

बाटो निर्माणका क्रममा स्क्राइभेटरको काममा दस लाख निकासा नगरी घुष मागेका कारण बाध्य भएर अख्तियारमा गुहारेको कार्कीले बताए। पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिइ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी लगिएको छ। कार्यालयका अनुसार पक्राउ परेका उनीहरुलाई इटहरीबाट थप अनुसन्धानका लागि काठमाडौं पठाइने जनाइएको छ।

यसअघि पनि इन्जिनियर किराँतले १० लाख लागतको सडक निर्माणको काम, कागजपत्र मिलाउने क्रममा पनि घुस मागेको र विभिन्न समयमा भूकम्पपीडितको रकम निकासा गर्ने क्रममा कन्सल्टेन्सीसँग पैसा लेनदेन प्रकरणमा पनि मुछिएको खुल्न आएको छ।

हतुवागढी गाउँपालिका ७ पात्लेपानीको आम्जीरा हुँदै मचुवा जाने सडक र होम्ताङ्गको दिफारा हुँदै वडा नं ७ पात्लेपानीकै पिप्ले आउने सडकको विषयलाई लिएर घुस मागेको र घुस लिँदै गर्दा दुवै कर्मचारी पक्राउ परेको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनु भयो ।