जनता टाइम्स

४ असार २०७६, बुधबार १२:३५

जाजरकोटमा अनलाइन सेवाबाट मालपोतको काम


जाजरकोट, असार ४

मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो ।

अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै नगरप्रमुख घर्तीले सेवा प्रवाहमा हुने अनियमिततालाई अनलाइन सेवाले बन्द गरिदिने बताउनुभयो । प्रविधिकै माध्यमबाट समृद्धिको खोजी गर्नुपर्ने बताउँदै अनलाइन सेवाले गुम्दै गएको जनविश्वासलाई नयाँ ढङ्गले जागृत गर्ने प्रमुख घर्तीले बताउनुभयो ।

देश र जनताको अचल सम्पत्तिसँग सम्बन्ध राख्दै आएको मालपोत कार्यालयलाई व्यवस्थित गर्न नसक्दा अभिलेखको खोजी गर्न निकै कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । हाल जाजरकोट जिल्लामा भने सोचे जस्तो नेट/इन्टरनेट सेवा नभएको भएता पनि त्यसलाई व्यवस्थित गर्दै जानुपर्ने प्रजिअ बस्नेतको भनाइ रहेको थियो ।

अनलाइन सेवाबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा दिने जिल्लामा जाजरकोट ६६औँ जिल्ला हो । अनलाइन सेवा सञ्चालन भएपछि यसको सम्पूर्ण अभिलेख सिंहदरबारमा हुने र जग्गाधनीको फोटो, हस्ताक्षर र ल्याप्चे पनि कम्प्युटरमार्फत गराइने छ ।

सर्वसाधारण जनताको सेवासुविधा र आर्थिक हित कायम राख्न, भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्न, भूमि व्यवस्थापनकार्यलाई सेवामुखी एवं सूचनामूलक बनाउन, जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्याउन, भू-राजश्व परिचालन गर्न सहयोग पु¥याउन, आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू–सूचना प्रणालीको विकास गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले अनलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ ।