जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार ००:४४

माधव नेपाललाई लुम्बिनी झड्का, ३७ प्रदेशसभा सांसदमध्ये एक मात्रै समाजवादीमा


बुटवल, १८ भदौ । माधवकुमार नेपाललाई लुम्बिनीमा समेत झड्का लागेको छ । नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लुम्बिनी प्रदेशमा जम्मा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेपछि झड्का लागेको हो । पाल्पाकी रमा घर्तीले नेकपा एमाले विभाजन भएपछि दाङस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकिकृत समाजवादी दलमा सनाखत गरेपछि माधव पक्षमा एक जना सांसद हुनुभएको हो ।

यसअघि माधव नेपाल पक्षमा खुल्नुभएको कपिलबस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले भने अहिलेसम्म दलमा सनाखत गर्नुभएको छैन । लुम्बिनीमा दोस्रो पुस्ताका रूपमा परिचित एमालेका उपाध्यक्ष युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरू एमालेमै बसेपछि लुम्बिनी प्रदेशसभा सदस्य पन्थी पनि तथस्ट बस्नुभएको हो ।

पहिले पनि लुम्बिनीमा केपी शर्मा ओलीकै पकड थियो । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि दोस्रो पुस्ताका नेताहरू एमालेमै रहदा नेपाल कमजोर बन्नुभएको हो । लुम्बिनीमा एमालेका ३७ जना प्रदेशसभा सदस्य छन् । तत्कालीन समयमा एमालेका ४१ जना सांसद रहे पनि राजनीतिक घटनाक्रममा कपिलबस्तुका दीर्घनारायण पाण्डे र दाङका अमरबहादुर डागीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो ।

त्यस्तै नेकपाबाट उपचुनावमा विजयी दाङकी विमला कुमारी वलीले अदालतले एमाले र माओवादी ब्यूताइदिएपछि माओवादी केन्द्र रोज्नुभएको छ । यस्तै सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाही स्वतन्त्र सांसदको रूपमा सरकारमा सहभागी छन् । वली र शाहीलाई एमालेले प्रदेश सांसदबाट निलम्बन गर्न माग गर्दै प्रदेशसभा चल्न दिएको छैन । तर, लुम्बिनी प्रदेशसभाले भने दुवैलाई कारबाही गर्न नपर्ने भन्दै जवाफ दिइसकेको छ । यस आधारमा एमालेका लुम्बिनीमा ३६ मात्रै सदस्य कायम छन् ।