जनता टाइम्स

४ असार २०७६, बुधबार १८:५१

निजी कलेजको सम्बन्धन नविकरण गरिदिन घुस लिने त्रिवीका डिन पक्राउ


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय एक डिनलाई घुसको रकमसहित पक्राउ गरेको छ । विज्ञान तथा प्रविवि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा. शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित आज साँझ किर्तिपुरबाट पक्राउ गरेको हो ।

एक निजी कलेजको सम्बन्धनको नविकरण गरिदिने नाममा ५० हजार घुस लिंदै गर्दा अख्तियारको टोलीले कीर्तिपुरको ट्याङलाफाटबाट पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पटेलमाथि अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । घुस काण्डमा विश्वविद्यालयबाट पक्राउ गरिएका पटेल अहिलेसम्मकै उच्च अधिकारी हुन्।