जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार १३:१०

समाचार प्रभाव : ‘मेरो सिफारिसमा नेपाल प्रहरीको परिक्षामा नाम निस्केको’ भन्दै गृहमन्त्रीलाई जोडेर स्टाटस लेख्ने एक जना पक्राउ



काठमाडौं, भदौ २६ । आफ्नो र केही कांग्रेस नेताहरूको सिफारिसमा प्रहरी जवान पदमा देशभरबाट ४१ जनाको नाम निकालेको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवा पक्राउ परेका छन्। गृहमन्त्री बालकृष्ण खाँणसमेतलाई धन्यवाद भन्दै फेसबुकमा स्टाटस लेखेपछि प्युठान प्रहरीले ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङलाई पक्राउ गरेको हो।गुरुङलाई शनिबार पक्राउ गरिएको प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले पुष्टि गर्नुभयो। गुरुङले केहीअघि आफ्नो व्यक्तिगत पहलमा ‘प्युठानी छोराहरूले नेपाल प्रहरीमा नाम निकालेको’ भन्दै स्टाटस लेख्नुभएको थियो । उहाँले ‘प्युठानका उपसभापति बद्री लम्सालको सिफारिसमा ११ जना, हिमाल, श्याम, राजन लगायत साथीहरूको सिफारिस गरी देशभरमा ४१ जनाको नाम निकाल्न सफल भएको’ लेख्नुभएको थियो । उहाँले सहयोगका लागि गृहमन्त्री खाँणलाई धन्यवाद समेत दिनुभएको थियो। उहाँको फेसबुक स्टाटसलाई लिएर जनता टाइम्सले समाचार प्रकाशित गरेको थियो ।

मल्लका अनुसार गुरुङसँग सो घटनाबारे सोधपुछ भइरहेको छ।आफ्नो नामसमेत जोडेर प्रहरी जवान पदमा भर्ना गराएको लेखेपछि उहाँसँग गृहमन्त्री खाँण असन्तुष्ट हुनुभएको थियो। खाँणले गुरुङलाई कारबाही गर्न प्रहरीलाई निर्देशन पनि दिनुभएको थियो । गुरुङ नेपाल विद्यार्थी संघकै युवा रहेको बताइए पनि प्रहरीले यसबारे थाहा भइनसकेको जनाएको छ।