जनता टाइम्स

३० भाद्र २०७८, बुधबार ०९:४९

मेरिङदेन गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इन्जिनियरिङ पढाउने


ताप्लेजुङ, ३० भदौ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इन्जिनियरिङ पढाउने भएको छ । विपन्न परिवारका जेहेन्दार एक/एक छात्रछात्रालाई जिल्ला सदरमुकाम फुङ्लिङ(३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीन वर्षे डिप्लोमा हाइड्रोपावर इन्जिनियरिङ पढाउन ८० प्रतिशत छत्रवृत्ति उपलब्ध गराउने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताउनुभयो ।

जिल्लामा जलविद्युत आयोजना निर्माण हुने क्रममा रहेकाले दक्ष जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी गरिन लागिएको उहाँले बताउनुभयो । गाउँपालिकाको २०७८र७९ को नीति तथा कार्याक्रममा चालु शैक्षिक सत्रदेखि विपन्न परिवारलाई इन्जिनियरिङ पढाउने भएकाले विपन्न परिवारका दुई विद्यार्थीलाई सहयोग गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमप्रसाद पौडेलले बताउनुभयो ।

आगामी शैक्षिक सत्रमा पनि गाउँपालिका नीति तथा कार्यक्रममा अन्य प्राविधिक धारका विषयमा छात्रवृत्ति उपलब्ध गराइने उहाँले बताउनुभयो । हाइड्रोपावर इन्जिनियरिङ पढ्न प्रवेश शुल्क ३३ हजार र मासिक पाँच हजार ५०० शुल्क लाग्ने बाल सुबोधिनीका प्रधानाध्यापक रामचन्द्र दाहालले बताउनुभयो ।