जनता टाइम्स

६ असार २०७६, शुक्रबार ०८:०६

चार वर्षदेखी धुलो र हिलो झेल्दै कलङ्की–नागढुङ्गाबासी


काठमाडौं ।

गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । चार वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ । कुल १० किलोमिटरको सडक कालोपत्रे गर्ने काम वैशाखभित्रै सक्ने भनिएकोमा अझै विभिन्न खण्डमा कालोपत्रे गरिएको छैन ।

ढलान गर्नुपर्ने स्थानमा भर्खर रड लगाइँदै छ । बन्नुपर्ने अधिकांश सडक पेटी पनि अधुरै छन् । १८ मिटर चौडा सडकको दुवैतर्पm दुईरदुई मिटर सडक पेटी र मध्यभागमा बनाउनुपर्ने मेडियनको काम बाँकी नै छ । पुराना मुख्य बजारक्षेत्र नैकाप, सतुङ्गल, गुर्जुधारा र थानकोट क्षेत्रमा सडकको चौडाइ नै बढाउन सकस परेको छ । ती क्षेत्रमा सडक पेटीको रेखाङ्कनसमेत हुन सकेको छैन ।

कलङ्की चोकदेखि तीन सय मिटर तलसम्म कालोपत्रे, पेटी तथा मेडियन निर्माण सबै बाँकी छ । ढुङ्गेअड्डादेखि नैकापसम्म पेटी क्षेत्र छुट्याएर कालोपत्रे गरिए पनि मेडियनको काम ढुङ्गेअड्डामा मात्र गरिएको छ । नैकापदेखि बल्खु खोलापुलसम्म साविककै सडक क्षेत्रफलमा कालोपत्रे गरिएको छ । सडकपेटी मेडियन निर्धारण हुनै सकेको छैन । बल्खुखोला पुलदेखि सतुङ्गलको बजारनजिक बागेश्वरी अस्पतालसम्म भने सडक करिब करिब तयारी अवस्थामा पुगेको छ । केही स्थानमा सडक पेटीलाई अन्तिम रूप दिनमात्र बाँकी छ ।

बजार क्षेत्रमा भने सडक विस्तारको काम हुन सकेको छैन । वर्षातको भेल व्यवस्थापनमा स्थानीयसँग समझदारी हुन नसक्दा यो क्षेत्रमा ठेकेदारले काम अगाडि बढाउन सकेको छैन । समस्या समाधानका लागि पहल भइरहेको काठमाडौंँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सतुङ्गल बजारनजिक करिब पाँच सय मिटर आरसीसी ढलानमध्ये आधा खण्डमात्र सकिएको छ । आधा चौडाइमा ढलानका लागि भर्खर रड बाँध्ने काम भइरहेको छ । पहिले कालोपत्रे गरिएकामा त्यो टिकाउ नभएपछि आयोजनाले गत वैशाखमा मात्रै आरसीसी ढलान गर्ने निर्णय गरेको थियो । निर्माण कम्पनी सैलुङ निर्माण सेवाका संयोजक नवराज भण्डारीका अनुसार सो क्षेत्रमा यातायात पनि सञ्चालन गर्दै निर्माण पनि जारी राख्नुपरेकाले केही ढिलाइ भएको हो । “ढलान गरेपछि दुई हप्ता त्यसमाथि गाडी गुडाउन मिल्दैन, त्यसैले त्यहाँ चाहेर पनि छिटो काम हुन सक्दैन, यो काम पछि थपिएकाले पनि केही ढिलाइ भएजस्तो देखिएको हो,” उहाँले थप्नुभयो, “असार मसान्तभित्र कलङ्की नागढुङ्गा सडकको सबै काम सकिन्छ । ”

गुर्जुधारा क्षेत्रमा पनि सडक विस्तार खुम्चिएको छ । मुआब्जा विवादका कारण थप जग्गा प्रयोगमा ल्याउन नसक्ने भएपछि सो क्षेत्रमा साविक ११ मिटर चौडाइमा सडकलाई अन्तिम रूप दिइँदै छ । चन्द्रागिरि नगरपालिका १२ नं. वडाका वडाध्यक्ष प्रकाश श्रेष्ठले सडक विस्तारमा स्थानीयहरू यथाशक्य सकारात्मक रहेको बताउनुभयो । “सम्भव भएका र घर भत्काउनु नपर्ने अवस्थामा सडक विस्तारका लागि हामीले आवश्यक सहयोग गरिरहेका छाँै,” उहाँले भन्नुभयो ।

बलम्बु क्षेत्रमा सडक र मेडियन तयार भएको छ तर सडक पेटी क्षेत्र छुट्याइए पनि बनाउने काम गरिएको छैन । चेकपोस्ट बजार क्षेत्रमा सडकको एक साइडमात्रै विस्तार गरेर भर्खर ग्राभेल हुँदैछ । थानकोट बजार क्षेत्रमा मुआब्जा विवादका कारण साविक ११ मिटर चौडाइमा मात्र कालोपत्रे गरिएको छ । यो बजारदेखि नागढुङ्गासम्म सडकपेटी र कालोपत्रेका लागि आधार तयार भइसकेको छ तर कालोपत्रे गरेको केही महिनाभित्रै उक्त सडकका विभिन्न स्थानमा खाडल परेका छन् । सो भागमा पुनः कालोपत्रे गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकिएको आयोजनाका प्रमुख अर्जुनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

अत्यधिक सवारी चाप हुने यो सडक निर्माणमा विभिन्न खाले समस्या आइरहँदा निर्धारित समयमा काम हुन नसकेको सम्बद्ध अधिकारीहरूको भनाइ छ । “ठेकेदारको काम सन्तोषजनक नै छ, थप काम, बिटुमिन अभाव, कतिपय प्रक्रियागत कुराले पनि काममा केही ढिलाइ भएको हो,” उहाँले थप्नुभयो, “यही महिनाभित्र सबै काम सिध्याउने गरी काम अगाडि बढाएका छौँ । ”

चार वर्षपहिले ठेक्का सम्झौता भएको यो सडक निर्माण मुआब्जा विवादका कारण स्थानीयको अवरोध र ठेकेदारको ढिलासुस्तीका कारण लामो समय निर्माण गतिहीन बनेको थियो तर गत वर्ष २०७५ साउन १० गते मन्त्रिपरिषद्ले निर्णय गरी सम्भव भएका स्थानमा मापदण्डअनुरूप र विवादित स्थानमा यथासम्भव विस्तार गर्ने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएपछि कामले केही तीव्रता पाएको थियो ।