जनता टाइम्स

६ असार २०७६, शुक्रबार ०८:५४

सुजाताका हत्या अभियुक्त तीन दिनमै पक्राउ, यस्तो रहेछ हत्याको रहस्य


पाँचथर ।

सुजाता तामाङको हत्या आरोपितलाई प्रहरीले तीन दिनमै पक्राउ गर्न सफल भएको छ । मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोलीले हिलिहाङ गाउँपालिका ६ का १९ वर्षीय घनेन्द्र लावतीलाई बिहीबार पक्राउ गरेको हो। प्रहरीले सुजाताको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसहित लावतीलाई नियन्त्रणमा लिएको हो।

हिलिहाङ ६ रातमाटेमा लघुवित्त समूहको बैठक सञ्चालनसँगै ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रहरीले लावतीलाई हिलिहाङ ५ स्थित गाउँमै लुकेर बसेको अवस्थामा बिहीबार राति ८ बजे पक्राउ गरेको हो। लावतीले पैसाकै लोभमा तामाङको हत्या गरेको पप्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी कुँवरले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।