जनता टाइम्स

६ असार २०७६, शुक्रबार ०९:०९

रसुवागढी आयोजनाको सुरुङभित्र फसेका १७ कामदारको सकुशल उद्धार


रसुवा ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारलाई सकुशल उद्धार गरी बाहिरि निकालिएको छ । सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएपछि सुरुङभित्र फसेका १७ कामदारलाई आज बिहान बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ ।

बिहिबार साँझ साढे ८ बजेतिर पहिरो जादा सुरुङभित्र रहेका सबै कामदार सकुशल बाहिर निस्केको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताउनु भयो । ‘सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएको हो,’ उहाले भन्नुभयो, ‘सुरुङको मुखै थुनिएको होइन।’

पहिरोले पहुँच मार्ग अवरुद्ध भएपछि सुरुङभित्र रहेका कामदारहरु बाहिर निस्कन सकेका थिएनन्। सर्ज ट्यांकभित्र काम गर्नेमा ११ नेपाली र ६ जना चिनियाँ गरि १७ जना कामदार रहेका थिए। खाना खाएर उनीहरु रातिको डिउटी गर्न सर्ज ट्यांक गएका थिए।

उद्धारका लागि करिब ४० जना सुरक्षाकर्मी सम्मिलित टोली खटिएको थियो। उक्त आयोजनामा कार्यरत चिनियाँ प्राविधिकहरूको सहायताले उद्धारमा सजिलो भएको भण्डारीले जानकारी दिनुभयो । ‘सुक्खा पहिरो भएकाले पनि अलि सजिलो भयो। हिलो पहिरो भएको भए निक्कै कठीन हुने थियो’, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भन्नुभयो, ‘सुक्खा पहिरो त अहिले पनि गइरहेको देखिन्छ ।’

निर्माणाधिन उक्त जलविद्युत आयोजनाको गोसाइकुण्ड गाउँपालिका(२ स्थित तातोपानी क्षेत्रको सुरूङमा ती कामदार थुनिएका थिए।