जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १२:२८

सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग


बुटवल, ५ असोज । नेपाल पत्रकार महासंघको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर सञ्चार विधेयक फिर्ता लिन माग गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीले सञ्चार विधेयक संविधानको मर्मविपरीत भएकाले फिर्ता लिन माग गरेको हो । मुख्यमन्त्रीसँगको भेटमा अध्यक्ष पोखरेलले केही प्रावधानले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने, प्रेसको प्रवद्र्धन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी व्याख्या गरेकाले विधेयक फिर्ता लिएर सरोकारवालासँगको छलफलपछि मात्रै विधेयक तयार गर्न सुझाव दिनुभयो ।

उहाँले पत्रकार महासंघले विधेयकमा रहेका विषयहरूलाई बुँदागत रूपमै सुधार र संशोधनका लागि बुझाएको स्मरण गराउँदै संविधान र प्रेसमैत्री कानुन निर्माण गर्न सुझाव दिनुभयो । महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले संविधानसँग बाझिएका विषय विधेयकमा उल्लेख भएकाले विधेयक अघि नबढाउन सुझाव दिनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकार महासंघले विधेयक फिर्ता लिन माग गर्दै आन्दोलन जारी राखेको र फिर्ता नलिए पुनः आन्दोलन गर्न बाध्य हुने बताउनुभयो ।

पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, पत्रकारहरु बालकृष्ण चापागाईं, विनोद पहाडी, सुशील पोखरेललगायतले विधेयक फिर्ता लिएर प्रदेशकै नमुना कानुन बनाउन सुझाव दिनुभएको थियो । सरकारले प्रदेशसभा सचिवालयमा दर्ता गराएको मिडिया विधेयकमा संविधानसँग बाझिने विषयहरु समावेश छन् । विधेयकको परिच्छेद ८ को दफा ६९ मा कसुर तथा सजायसम्बन्धी व्यवस्थामा दण्ड र जेल सजायसम्मको व्यवस्था गरेको छ । दफा ७० मा दर्ता नगरी कुनै प्रकाशन गरेमा त्यस्तो व्यक्तिलाई रजिस्ट्रार कार्यालयले पाँच हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ, भनिएको छ ।

दफा ७१ मा झुटा विवरण दिएमा १० हजार, दफा ७२ मा विवरण उल्लेख नगरेमा पाँच हजार जरिवाना गर्ने व्यवस्था छ । यस्तै, ७३ मा रोक लगाइएको विदेशी प्रकाशन पैठारी गरेमा १० हजार जरिवाना, ७४ मा प्रतिबन्धित वा निषेधित प्रकाशन निकासी वा बिक्री गरेमा १० हजार जरिवाना र प्रकाशन जफत गर्ने व्यवस्था छ । दफा ७५ मा दर्ता नगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन गरेमा त्यस्तो व्यक्तिलाई पाँच हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।