जनता टाइम्स

६ आश्विन २०७८, बुधबार २१:४३

दम्पत्ति नै यौन व्यवसायमा, तीन पक्राउ


चितवन, ६ असोज । नारायणगढमा खाजा घर सञ्चालन गर्दै आएका एक दम्पतीसहित तीनजनालाई यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। चितवन प्रहरीका अनुसार धादिङका विकास भनिने भोजबहादुर तामाङ, उनकी श्रीमती विपना तामाङ र यौनधन्दाका लागि आएका ग्राहक बाराको बारागढी गाउँपालिका–६ सिहसनीका राजेश चौधरी पक्राउ परेका छन् ।

तामाङ दम्पती भरतपुर–२ लायन्सचोकमा रहेको विकास खाजा घरका सञ्चालक हुन् । दुई महिलालाई सरसफाइको काम दिने भनेर राखेका होटल सञ्चालकले आर्थिक प्रलोभन देखाउँदै ग्राहकहरुसँग यौनकार्यमा सहभागी गराउने गरेको प्रहरीको आरोप छ । खाजा खान आउने ग्राहकहरुसँग यौन कार्य गर्न लगाएर आर्थिक लाभ लिने गरेको प्रहरीको दाबी छ ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतको अनुमतिमा म्याद थप गरी अनुसन्धान भैरहेको बताए । प्रहरीले ग्राहक र सरसफाइको काम गर्न बसेका एक महिला यौन कार्यमा संलग्न भएकै अवस्थामा छापा मारेको थियो । सो खाजा घरमा यौनधन्दा हुने गरेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।