जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार ०७:४९

देउवा सरकारले महिलाको महिनावारीमा समेत कर लगाएपछि…


काठमाडौँ, असोज ८ । माइतीघर मण्डल, बिहीबार दिउँसो ४ बजे २०–२५ जनाको समूहबीच दुई युवती लम्पसार छन् । उनीहरूका पाइन्ट रगतले लत्पतिएझैं देखिन्छ । हल न चल अवस्थामा उनीहरू करिब ४५ मिनेटसम्म यसरी नै चुपचाप लडिरहे । उनीहरूलाई घेरेर बसेकाहरूले भने थरीथरीका पम्प्लेट बोकेका छन्– ‘रातो कर खारेज गर,’ ‘सेनिटरी प्याड विलासिता होइन आवश्यकता हो,’ ‘सरकार महिनावारीमा कर कहिलेसम्म रु,’ ‘तोहर स्त्री दबनुवा कानुन हम ना मानबौ’ (स्त्री दबाउने तिम्रो कानुन हामी मान्दैनौं) इत्यादि । भुइँमा बिछ्याइएको सेतो कपडामा भने रातै मसीले ‘रातो कर माफ गर’ लेखिएको छ ।


सरकारले सेनिटरी प्याडमा लगाउँदै आएको भ्याट र कर खारेजीको माग गर्दै युथ कांग्रेस नेपालले बुधबार आयोजना गरेको विरोधको दृश्य हो यो । सरकारले कर लगाएसँगै केही दिनयता प्याडको मूल्यमा वृद्धि भएको छ । आफूहरूको अत्यावश्यक सामानमा मूल्य बढाइएको भन्दै महिला तथा युवतीले आवाज उठाएपछि सांकेतिक विरोध गरिएको युथ कांग्रेस नेपालका केन्द्रीय सदस्य मनोज पुरीले बताउनुभयो  । ‘महिनावारीको सामग्रीमा कर लगाउनु हुँदैन भनेर एक महिनाअगाडि नै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौं । तर सरकारले बेवास्ता गर्‍यो,’ उहाँले भन्नु्भयो, ‘त्यसपछि हामी सडकमा उत्रिन बाध्य भयौं ।’ महिनावारी हुँदा बग्ने रगतलाई पनि सांकेतिक रूपमा प्रस्तुत गरिएको उहाँले बताउनुभयो । कान्तिपुरबाट