जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार ११:०८

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा,नागरिकता र श्रमिक अधिकार मुख्य एजेन्डा


काठमाडौँ, असोज ८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । संघमा उपाध्यक्ष रहनुभएकी थापाले कात्तिक ३ मा हुने एनआरएनएको १० औं राष्ट्रिय सम्मेलनमा हुने निर्वाचनमा संघको २०२१( २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताउनुभयो ।

उहाँको प्यानलमा उपाध्यक्षमा जयप्रकाश गुरुङ, महासचिवमा विनय अधिकारी र सचिवमा ओम गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता दिलाउन नेपाल सरकारसँग पहल गर्नेछौं । यो नै हाम्रो मुख्य एजेन्डा हो,’ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । संघमा रहेका सबै सदस्यले केन्द्रको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्नु पनि आफ्नो प्राथमिकता रहने उहाँको भनाइ छ । दोहोरो करका सम्बन्धमा पनि गैरआवासीय नेपालीले छुट पाउनुपर्ने विषयलाई जोड दिइने उहाँले प्रतिवद्धता जनाउनुभयो । म्याग्दीमा जन्मिनुभएकी थापाले पहिला जापानमा रहेर सामाजिक अभियन्ताका रूपमा काम गर्नुभएको थियो। त्यसपछि उहाँले अमेरिकामा रहेर गैरआवासीय संघमा आबद्ध भई काम गरिरहनुभएको छ ।

म्याग्दीस्थित मोना हाइड्रोपावरमा उहाँको पारिवारिक लगानी छ । ‘वैदेशिक रोजगारीमा जाने नेपालीलाई बाहिरको कानुन थाहा नहुने भएकाले साना गल्तीले समेत जेलमा बस्नुपरेको अवस्था छ,’ उहाँले भन्नुभयो ‘यससम्बन्धी नीतिमा सरकारसँग पहल गर्नेछौं ।’ समृद्धिका लागि सुरक्षित रोजगारीको वातावरण सिर्जना गर्न सघाउने, उद्यमलाई प्राथमिकता दिने र युवाहरुलाई संघमा ल्याउने उहाँको भनाइ छ । उपाध्यक्षका उम्मेदवार गुरुङ सन् २००५ देखि संघमा आबद्ध हुनुहुन्छ। एनआरएनए यूकेको कार्यसमिति सदस्य रहेर काम गर्नुभएका उहाले ग्लोबल गोर्खा समाजका संरक्षक एवं संस्थापक अध्यक्ष रूपमा काम गरिरहनुभएको छ। ‘संघमा मैले गोर्खालीहरुको हक स्थापना गर्न आफ्नो उम्मेदवारी दिएको हुँ,’ उहाँले भन्नुभयो ‘संघमा लामो समयदेखि यससम्बन्धी मुद्दा सम्बोधन हुन सकेका छैनन् ।

गोर्खालीहरुको मुद्दालाई केन्द्रीयस्तरदेखि उठाउन आवश्यक छ ।’बेलायतमा रहेर विभिन्न पेसा व्यवसायमा संलग्न महासचिव उम्मेदवार अधिकारीको नेपालमा शिक्षा, हाइड्रो र स्वास्थ्य क्षेत्रमा लगानी छ ।

उहाँ सूचना प्रविधि व्यवसायी समेत हुनुहुन्छ । ‘सन् २०१३ देखि संघमा आबद्ध छु,’ उहाँले भन्नुभयो , ‘एनआरएनए यूकेको उप–महासचिव रहेर काम गरेको अनुभव छ । यही अनुभवले गरेर महासचिवमा उम्मेदवारी दिने आत्मविश्वास आएको हो ।’ सचिवका उम्मेदवार गुरुङ जापानमा रही विभिन्न संघसंस्थाको काममा आबद्ध हुनुहुन्छ । विदेशका ससानो लगानी ल्याएर समूहमा लगानी गर्ने योजना रहेको थापा समूहले बताएको छ । ‘थोरैथोरै पैसा संकलन गरेर यहाँ ठूलो क्षेत्रमा लगानी गर्ने सम्भावना धेरै रहन्छ,’ थापाले भन्नुभयो , ‘जसरी भए पनि हामीले ससाना व्यवसायलाई सहयोग गर्ने भन्ने योजनासहित पुँजी संकलन गर्ने योजना बनाएका छौं ।

विदेशमा हासिल गरेको सीपलाई व्यवसायिकीकरण गर्ने योजनासमेत रहेको उहाँको भनाइ छ । विदेशबाट नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिई धेरै जनालाई दक्ष बनाउन सकिने उहाँको भनाइ छ । विदेशमा नेपालीले सिकेको ज्ञान र सीपलाई एनआरएनएले नेपालसँग जोड्नसमेत आफूले धेरै काम गरेको उहाँले बताउनुभयो । थापा समूहको उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए एनसीसी सदस्यहरू जापानबाट ओम गुरुङ, अमेरिकाबाट प्रेम श्रेष्ठ र कृष्ण जीबी पन्थले समर्थन गर्ने घोषणा गर्नुभएको थियो ।