जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार २०:३०

यसो गरे जेल जानबाट बच्न सक्छन महरा


यी सवै घटनाक्रमले महरा र शाही प्रेमि–प्रेमिका रहेको देखाउँछ । त्यसैले अव महराले जेलको बास भन्दा रोशनी प्रेमिका हो भन्ने स्वीकारोक्ति र ब्यवस्थापन नै रोज्नु पर्ने सुझाव सवैको छ । जनताटाइम्ससँगको कुराकानीमा अवकाशप्राप्त ती न्यायाधीशले भने जस्तै लामो खोजपछि तथ्यका आधारमा लेख लेखेका स्तम्भकार मगरले पनि निश्कर्ष सुनाएका छन, ‘रोशनीले म डिप्रेसनको रोगी हुँ भनेर दिएको निवेदनकै आधारमा महरा जोगिने अवस्था छैन, बरू रोशनी मेरी प्रेमिका हुन् भनेर भन्न सक्नुपर्छ ।’

समाचार बिश्लेषण

काठमाडौं, कात्तिक ७ । तात्कालिन सभामुख कृष्णबहादुर महरा यतिबेला प्रहरी हिरासतमा छन । संसद सचिवालयमै कार्यरत प्रेमिका रोशनी शाहीले बलात्कार र कुटपीट गरेको अभियोग लगाएपछि सम्माननीय सभामुखबाट प्रहरी हिरासतमा पुगेका महरालाई आज मात्रै अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । सभामुखको सरकारी निवासबाटै गत असोज १९ गते पक्राउ परेका महरालाई यो तेस्रो पटक म्याद थपिएको हो ।

लामो समयदेखि प्रेम सम्बन्ध रही सहमतिमै यौन सम्पर्क राख्दै आएका महरा र शाहीबीच पछिल्लो समय एउटी महिलाकै कारण बलात्कारसम्मको अभियोगमा आइपुगेको छ । महरा निकट ब्यक्ति तथा तात्कालिन माओवादीका नेताहरुकै भनाईमा महरा–रोशनी प्रेम सम्बन्धको लामो कहानी रहेको छ । आफ्नै प्रेमिका रोशनीलाई आवश्यक सवै कुरा पुर्याउने महरा पछिल्लो समय अर्कै महिलासँग हिमचिम बढाएको जानकारी पाएपछि आफ्नो ब्यवस्थापनमा बानेश्वरमा घर किन्न दवाव बढाएकी रोशनीले त्यो मागमा बेवास्था गरेपछि महरामाथि नै हातपात गर्दै बलात्कारको अभियोग लगाएको देखिएको छ । अर्की महिलासँग महराको सम्बन्ध बढेको शाहीको आशंकाबीच महराले पहिलाको जस्तो केयर गर्न छाडेकै कारण रोशनीसँगको १४ वर्षदेखिको अगाध प्रेम बलात्कारमा परिणत भएको देखिएको छ । उनले अव महराले अर्की प्रमिका भेट्यो, मलाई छाडने भयो भन्ने निश्कर्षमा पुगेर नै शाहीले आवेगमा आएर १४ बर्षदेखिको रिलेशनलाई बलात्कारमा परिणत गरिदिएकी थिइन ।

महराको प्रेमिका भएकै कारण उनी अहिले मिडियादेखि अदालतसम्म आफैले बलात्कार गरेको किटानी जाहेरी दिएका अभियुक्त महराको बचाउमा निवेदन दिएकी छन । तर महरा र शाही दुवैको यो बयानले जेल जानबाट बच्न सक्ने अवस्था नरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र सरकारी वकिल तथा कानून ब्यवसायीको बुझाइ छ । महरा जेल जानबाट रोक्ने एउटै मात्र बिकल्प रहेको उनीहरु बताउँछन । ‘महरा र रोशनीले आफूहरु प्रेमी–प्रेमिका रहेको तथ्यलाई अदालतमा स्वीकार गर्दै सहमतिमै यौन सम्बन्ध कायम गर्ने गरेको अवस्थामा जेल जानबाट बच्न सक्छन, अहिलेसम्मको सवुत प्रमाणको आधारमा यो भन्दा अर्काे बिकल्प छैन,’ अवकाशप्राप्त एक न्यायाधीशले जनताटाइम्ससँग भने । उनका अनुसार अव अदालतदेखि आम नागरिकसम्म महरा र रोशनीबीच नियमित सारिरीक सम्पर्क थियो, प्रेमि–प्रेमिका हुन भन्ने कुरा चिर्न गाह्रो छ । ‘दुवैले आफूहरुको प्रेम सम्बन्ध स्वीकार गरी यथार्थ राखेको अवस्थामा अदालतले जेल नपठाउन सक्छ, तर अहिले जस्तै बयान फेर्दै आएकै छैन, भएकै छैन भनेर प्राप्त सवतलाई काटन सक्दैन,’ ती न्यायाधीशको भनाई छ ।

प्रहरीले बलात्कार भएको भनिएको दिन महरा रोशनीको कोठामा पुगेको प्रमाण संकलन गरिसकेको छ । महराले प्रहरीसँगको बयानमा कोठामा नगएको बताए पनि त्यस दिन रोशनीले महराको चस्मा फुटाइ दिएको र तानातानमा थुतेको जुत्ताको तलुवादेखि अन्य सवै प्रमाणले उनी रोशनीको कोठामै पुगेको देखिन्छ । पटक–पटक शाहीको कोठामा पुग्नुमा महरा र उनीबीचको प्रेम नै हो । घटना भएको दुई साता अघि मात्रै पनि महरा शाहीको कोठामा पुगेका थिए ।

तत्कालीन सभामुख महरा गत भदौ २२ गते निजी सुरक्षाकर्मी नै लिएर रोशनी शाहीको डेरामा पुगेका थिए । पहिला झैं उनले छिटो आउने भए आउनुहोस, नत्र जे पनि गर्छु भनेर फोन गरेपछि महरा शाहीको डेरामा पुगेका हुन । त्यसो त उनी भदौ १४ र १८ गते पनि शाहीको कोठामा पुगेका थिए । कहिले औषधि सकियो, कहिले आत्महत्या गर्छु, त कहिले भएको औषधि एकैपटक खाइदिन्छु भन्ने धम्की दिने गरेका कारण महरा पटक–पटक रोशनीको निवासमा पुग्ने, सम्झाउने र आवश्यकता पूरा गरिदिने गरेका थिए । त्यसो त पूर्वसभामुख ओनसरी घर्तीमगरले एम सरको गर्लफ्रेण्डलाई संसद सचिवालयमा सरुवा गर्नुपर्यो भनेर आफू निकटलाई भनेको र उहाँकै पालामा रोशनी संसद सचिवालयमा आएको बताउनेहरुको संख्या पनि ठुलै रहेको छ ।

खोज पत्रकारितामा चाख राख्ने स्तम्भकार दिल निशानी मगरले लोकान्तर डटकममा महरा शाहीबीचको प्रेम सम्बन्धको सवै पाटो खुलासा गरेका छन । असोज १७ गते लेखेको लामो अनुसन्धानमुलक लेखमा मगरले महरा र शाहीबीचको प्रेम सम्बन्ध र उतार चढावबारे बिभिन्न तथ्य प्रस्तुत गरेका छन । जुन तथ्यले महरा र शाहीबीचको नियमित सम्पर्क र सम्बन्धबारे बुझ्न सहज बनाउँछ । आफ्नै प्रेमिकाले अर्काै युवतीसँग नजिकिएको आरोप लगाएर ब्यवस्थापन गर्न भन्दा चुकैकै कारण महरा यतिबेला हिरासतमा पुगेका छन ।

भदौं १४ को त्यो फोन

भदौ १४ गते तात्कालिन सभामुख महरालाई रोशनीको एक्कासी फोन आयो । उनले भनिन, ‘मेरो औषधि सकियो, के गर्ने हो आउनुहोस, नत्र म मर्छु ।’ यो भनाईलगत्तै महराले औषधि लिन आफ्ना निजी सुरक्षाकर्मीलाई नर्भिक अस्पतालको फार्मेसीमा पठाए । पाँच एमजीको क्लोनाजेपाम भन्ने औषधि किनेर ल्याउनुस भनेका थिए । तर त्यो औषधि जो पायो त्यसलाई दिन नमिल्ने, स्वयं बिरामी नै उपस्थित हुनुपर्ने र डाक्टरको हस्ताक्षरविना दिन निमल्ने अडान फार्मेसीका कर्मचारीले रो । उनीहरूको यो भनाईपछि महराले आफ्ना छोरा राहुललाई नै त्यहाँ पठाए । उनले नर्भिकका डाक्टरहरूसँग परिस्थितिबारे बताएपछि फार्मेसीका कर्मचारीहरू क्लोनाजेपाम नामको औषधि दिए । राहुल आफै औषधी लिएर गए पनि गेटमै बसे, निजी सुरक्षाकर्मीले औषधि रोशनीको डेरामा पुर्याए ।

आत्महत्या प्रयाशको पहिलो जानकारी

रोशनी शाहीले गत पुसमा आत्महत्याको प्रयास गरेकी थिइन् । भएभरका क्लोनाजेपाम एकैपटक निलेर ओभरडोज लिएकी थिइन् उनले । यो ओभरडोजको जानकारी सबैभन्दा पहिला महराले नै पाए । ‘मलाई केही भयो भने महरालाई नै भन्नू’ भनेर रोशनीले संसद सचिवालयमै कार्यरत आफ्नो एक सहकर्मीलाई सुनाएकी थिइन । ती कर्मचारीले महारालाई फोन गरेर ‘रोशनी त बेहोश छे, बर्बराएकी छे, के गर्ने होला ?’ भनिन । महराले तत्कालै आफ्नो स्वकीय सचिवालयका एक सदस्यलाई रोशनीबारे बुझ्न पठाए । ती सदस्यले प्रहरी र अस्पतालसँग समन्वय गरेर रोशनीलाई निवास फर्काए । निवासमा फर्केको तीन दिनपछि महरालाई रोशनीले फोन गरेर झपारिन, ‘म मर्न लाग्दा पनि तिमी नआउने, अरूलाई नै पठाउने ? चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो ?’ महराले चाहिँ ‘म व्यस्त छु, के कसो गर्नुपर्ने हो राहुललाई भन्दा हुन्छ नि !’ भनेर जवाफ दिएको तथ्य स्तम्भकार दिल निशानी मगरले खोलेका छन ।

यो पनि पढनोस

महराको बयानले देखायो शाहीसँगको लामो प्रेम सम्बन्ध

मुड फ्रेस बनाउन दिल्ली यात्रा

महरासँगको प्रेममा पागल बनेकी रोशनीले चैत १२ गते ‘खुशीको खबर छ, डियर !’ भन्दै महरालाई फोन गरिन । त्यसलगत्तै दिल्ली यात्रामा हानिइन शाही । त्यहाँ १४ दिन दिल्ली बसेर आइन । त्यसको खर्च महराले नै बेहोरेका थिए । शुरूमा १ लाख भारु पठाइएको थियो । रोशनीले पुगेन भनेपछि २ पटक गरी करीब ५० हजार भारु थप पठाइयो । तर नेपाल आएपछि पनि रोशनीको कचकच यथावत रह्यो । ‘तैंलै गर्दा मैले काम गर्न सकिनँ, म कमजोर भएँ, तालिममा दिल्ली गएको भन्ने कुरा श्रीमानलाई बुझाउन गाह्रो भयो’ भन्नेजस्ता गुनासो निरन्तर आइरह्यो ।

महराले पत्नीसँग मागेका थिए माफी

संसद सचिवालयमै रहेकी रोशनीले दिल्लीबाट आएलगत्तै महरा अर्की एक महिलासँग नजिकिएको चाल पाइन् । त्यसपछि उनले मलाई व्यवस्थापन गर्नुपर्यो भनेर महरामाथि दबाब बढाइन । दबाब आउन थालेको कुराबारे छोरा राहुल पनि जानकार थिए । उनले परिवारका अन्य सदस्यसँग यो कुरा शेयर गरे । घरमा सानोतिनो लफडा नै भयो ।

पारिवारिक रूपमा कुरा उठेपछि महराले रोशनीसँग नजिकिनु आफ्नो भूल भएको स्वीकारे गर्दै चाँडो भन्दा चाँडो ब्यवस्थापन गर्ने भन्दै पत्नीसँग माफी नै मागेका थिए । स्तम्भकार मगरका अनुसार महराले अहिले डिप्रेसनको बिरामी भएका कारण रोशनीलाई गाली÷बेइज्जती नगर्न परिवारका सदस्यलाई सम्झाएका थिए । समस्या आफैं हल गर्ने भनेर उनले पत्नीसँग माफी समेत मागेका थिए । महराले परिवारको साथ लिएर रोशनीलाई ब्यवस्थापन गर्ने योजना पूरा हुन नपाउँदै बाहिर आयो । उनले अहिलेसम्म पाएका सवै सम्मान, मान प्रतिष्ठा र पद गुम्यो । अव जेल जानबाट रोक्ने उपाए भनेको प्रेमि–प्रेमिका हौं भन्ने स्वीकारोक्ति नै हो ।

महरामाथि नै आक्रमण

घटना भएको भनिएको दिन महरा रोशनीलाई सम्झाउन पुगेका थिए । तर कोठा पुग्नसाथ रोशनीले महराको ज्याकेट समातेर झम्टिएकी थिइन् । मलाई कि मार कि पाल् भन्दै उफ्रिइन । यही बीचमा महराको चश्मा फुट्यो । यस विषयमा भोलि फ्रेश मूडमा कुरा गरौंला भनेर महरा निस्किन लाग्दा रोशनीले महराकै खुट्टा समाइन् । महराको जुत्ता खोसेर फ्याँकिन । महाराको जुत्ता तानातान गर्दा जुत्ताको भित्री खोल रोशनीको हातमा पर्यो । तनावका कारण त्यो दिन महराले बिर्से । उनी सवुत प्रमाण छाडेर बाहिरिए । उत्तेजनामा आएकी रोशनीले प्रहरीदेखि कांग्रेस नेतृ उमा रेग्मीसम्मलाई फोन गरेर बलात्कार गर्यो भन्दै बयान दिन भ्याइसकेकी थिइन ।

उनले महराको पुत्रलाई पनि तिम्रो बाबुले रेप गर्नुभयो, यो कुरा म बसेको घरवेटीले चाल पाए, पुलिस बालाए, पुलिस आयो, मेरो बयान लियो … यस्को परिणम मलाई थाह छैन भन्दै म्यासेज गरेकी थिइन । यी सवै घटनाक्रमले महरा र शाही प्रेमि–प्रेमिका रहेको देखाउँछ । त्यसैले अव महराले जेलको बास भन्दा रोशनी प्रेमिका हो भन्ने स्वीकारोक्ति र ब्यवस्थापन नै रोज्नु पर्ने सुझाव सवैको छ । जनताटाइम्ससँगको कुराकानीमा अवकाशप्राप्त ती न्यायाधीशले भने जस्तै लामो खोजपछि तथ्यका आधारमा लेख लेखेका स्तम्भकार मगरले पनि निश्कर्ष सुनाएका छन, ‘रोशनीले म डिप्रेसनको रोगी हुँ भनेर दिएको निवेदनकै आधारमा महरा जोगिने अवस्था छैन, बरू रोशनी मेरी प्रेमिका हुन् भनेर भन्न सक्नुपर्छ ।’